निर्मला हत्या प्रकरणको छानविन: आत्ति आयो हात्ति आयो फुस्सा,दोषी किटान नगरी प्रतिवेदन

काठमाडौँ — कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले दोषी किटान नगरी प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा घटनालगत्तै सुरु भएको आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीको पहिचान नगरिएको र अनुसन्धानलाई प्रभावकारी नबनाइएको भन्दै कञ्चनपुरवासीहरू आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा ८ भदौमा प्रहरीले चलाएको गोली लागी एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आधा दर्जन गम्भीर घाइते भएका थिए ।

 

भदौ ७ मा गृह मन्त्रालयले गठन गरेको गृह सहसचिव इश्वरराज पौडेल नेतृत्वको उच्चस्तरीय छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको हो । गृहमन्त्री रामबहादुर थापालाई समितिका संयोजक एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीले प्रतिवेदन बुझाएका हुुन् । स्रोतका अनुसार निर्मलाको बलात्कार र हत्यामा को संलग्न थियो भन्ने किटान नगरिएको प्रतिवेदनमा घटनालगत्तै प्रहरीको भूमिका र घटनापछि विकसित परिस्थितिबारे विश्लेषण गरिएको छ ।

मन्त्रालयले प्रतिवेदनमा के/के समेटिएको छ भन्नेबारे केही औपचारिक रूपमा खुलाएको छैन । समितिका एक सदस्यका अनुसार प्रमाणहरू किन नष्ट गरियो भन्दा पनि कसरी नष्ट गरियो भन्ने तथ्य प्रतिवेदनमा छ । घटनापछि आन्दोलनमा को/को कसरी खटिए र तिनीहरू कतैबाट परिचालित थिए कि भनेर पनि समितिले हेर्ने प्रयास गरेको छ । समितिले प्रहरीले कसरी अनुसन्धान अगाडि बढायो, क–कसलाई भेट्यो र स्थिति किन प्रहरी प्रशासनको नियन्त्रणमा रहेन भन्ने तथ्य पनि खुलाएको छ ।

आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

 

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर