बुटवलमा बिषादी परिक्षण,पहिलो परिक्षणमा आलुमा बढि बिष,तर परिक्षण गरिएका सबै खानयोग्य

lumbinireview.com

तस्बिर ः बुटवलमा रहेको प्रयोगशालामा मंगलबार तरकारी तथा फलफूलको बिषादी जांच्दै प्राबिधिक ।

कर्मचारी समायोजनपछि बन्द थिए प्रयोगशाला, कर्मचारीको दरबन्दी अझै छैन
बुटवल, असार २४ गते । भारतीय तरकारीको बिषादी परिक्षण स्थगित भएको चर्चा चुलिएका बेला प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा रहेको विषादी मापन प्रयोगशाला पुनः सञ्चालनमा आएको छ ।
संघीय सरकार अन्तरगत रहेको यो प्रयोगशाला प्रादेशिक संरचनामा कर्मचारी समायोजन भएपछि कर्मचारीको अभावका कारण बैशाख २० गतेबाट बन्द रहेकोथियो । तर प्रदेश सरकारले प्राविधिक अधिकृतलाई प्रयोगशालामा खटाएपछि मंगलबारबाट बिषादी परिक्षण शुरु भएको हो ।
प्रदेश ५ मा बुटवलको कृषि उपज थोक बजार केन्द्र र बांकेको नेपागञ्जमा गरी दुई वटा प्रयोगशाला भएपनि कर्मचारी अभावकै कारण ती बन्द भएकाथिए । प्रदेश सरकारको कृषि मन्त्रालयले बांकेको प्रयोगशाला पनि छिट्टै प्रयोगमा ल्याईने जनाएको छ ।
यी प्रयोगशालामा कृषि उपज थोक बजार केन्द्रमा आउने फलफूल तथा तरकारीको विषादी जांच हुन्छ । यहां नेपालका बिभिन्न स्थान र भारतबाट समेत तरकारी तथा फलफूल थोकमा आउंछन् ।

प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समायोजनबाट प्रदेशमा आएका प्राबिधिकलाई तत्कालका लागि प्रदेशबाटै तलबभत्ता खानेगरी खटाएर भएपनि प्रयोगशाला पुनः सञ्चालनमा ल्याएको बताउनुभयो ।

दीघकालीन रुपमा भने प्रयोगशालालाई प्रदेश माताहत ल्याउन प्रदेश मन्त्रालयले पहल थालेको छ । त्यस्तो पहल स्वरुप प्रदेशले असार १० मा प्रयोगशाला प्रदेश मातहत दिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई लिखित प्रस्ताव पठाएको थियो । तर उक्त मन्त्रालयले साविक अवस्थामा प्रदेशबाट तलबभत्ता खानेगरी प्रयोगशालामा कर्मचारी पठाएर सहयोग गर्न आग्रह गरेको थियो । सोही आग्रहपछि प्रदेशले तत्कालका लागि प्राविधिक पठाएको हो ।

बुटवलको प्रयोगशाला २०७३ करिब सालमा ४० लाख लगानीमा स्थापना भएकोथियो । जसलाई विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ नाम दिइएको छ ।
चार बर्षअघि स्थापना भएपनि कर्मचारीको स्थायी दरबन्दी नभएका कारण प्रयोगशाला नियमित सञ्चालनमा आएकोथिएन । यसअघि काजमा खटिएका दुई प्राबिधिकले दैनिक १० देखि १२ वटा तरकारी तथा फलफूलका नमुना परीक्षण गर्ने गरेका थिए । तर ती कर्मचारी पनि प्रदेशको कृषि निर्देशनालयमा समायोजन भएपछि प्रयोगशाला बैशाख २० गतेबाट बन्द भएकोथियो ।

प्रदेशको निर्देशनालयबाटै तलब खाने गरी प्राविधिक रामबहादुर खत्री अहिले प्रयोगशालामा फर्किनुभएको छ । अर्का प्राबिधिक भने संघ मार्फत नै समायोजन भएर रुपन्देहीको पशु क्वारेन्टाइन बेलहियामा खटिनुभएको छ ।

पुनः प्रयोगशालामा खटिएका प्राबिधिक खत्रीका अनुसार मंगलबार पहिलो दिन बन्दा,टमाटर,आलु,मुला र आंपमा बिषादीको नमूना परिक्षण गरिएकोथियो । तीमध्ये अरुको तुलनामा आलुमा ‘इन्ह्याभिएसन प्रसेन्ट’केही बढि देखिएपनि आलु लगायत परिक्षण गरिएका सबै तरकारी र फलफूल खानयोग्य प्रमाणित भएकाथिए । यसअघि भएका परिक्षणमा बेमौसमी तरकारी, फलफूल र खुर्सानीमा विषादी भेटिने गरेको थियो ।

अहिले प्रयोगशालामा एक जना मात्रै प्राबिधिक खट्नुभएको छ । प्राबिधिक खत्रीका अनुसार एक्लैले दैनिक
५ देखि ७ वटा तरकारी तथा फलफुलको नमूना परिक्षण गर्न सकिन्छ । तर बुटवलको थोक केन्द्रमा दैनिक धेरै प्रकारका तरकारी तथा फलफूल आउने गदैछ । यो केन्द्रमा मात्रै मासिक करिब ३ करोडका तरकारी तथा फलफूल बिक्री हुने गर्दछ ।

बुटवलसहित कालीमाटी, नेपालगञ्ज, पोखरा, अत्तरीया, सर्लाही र काकडभित्ताका कृषि उपज थोक बजार केन्द्रमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना भएकाथिए । तर अधिकांश ती प्रयोगशालाहरुमा पनि कर्मचारीको स्थायी दरबन्दी छैन ।

एक दिनअघि मात्रै सोमबारबाट प्रदेश १ सरकारले विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको थियो ।

दीपक ज्ञवालीले लेखेको यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर